काठमाडौँ क्षेत्र नं. १ मा जेनजी अगुवा सन्दिप लुँइटेल नेकपाबाट उम्मेदवार सिफारिस


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा जेनजी अगुवा सन्दिप लुँइटेललाई सिफारिस गरेको छ । विकासप्रेमी तथा गतिशील युवा नेता समेत रहेका लुँइटेललाई नेकपाले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो ।

बानेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययन पूरा गरेका लुँइटेल लामो समयदेखि राजनीतिमा सक्रिय छन् । आफ्नो क्षेत्रमा देखाएको सक्रियता, जनताको भावना र समस्यासँग परिचित लुँइटेललाई नेकपाले उम्मेदवार सिफारिस गरेको हो ।

उनले क्षेत्र नम्बर १ मा रहेका सुुकुम्बासी टोलमा कोरोना महामारीको समयमा फुड बैंक सञ्चालन गर्दै जनसेवामा योगदान पुर्‍याएका थिए। जेनजी आन्दोलनमा उनको भूमिका र बलियो पकडलाई पार्टीले उच्च मूल्याङ्कन गरेको छ।

लुँइटेलले जेनजी आन्दोलनमा शहिद भएका साथीहरूको चित्कार अझै कानमा घन्किरहेको बताउँदै आन्दोलनले देखेको सपना साकार पार्न काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने साहस गरेको बताए। उनका अनुसार युवाले नीतिनिर्माण तहमा पुगेर हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सन्देश यही आन्दोलनले दिएको छ।

उनको उम्मेदवारी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थक र शुभचिन्तकहरूले बधाई र शुभकामना व्यक्त गरिरहेका छन्। धेरैले नेपाली कम्युनिष्ट पार्टीले जेनजी आन्दोलनको भावना आत्मसात गर्ने युवा नेतालाई आधिकारिक उम्मेदवार बनाउनु पर्ने आवाज पनि उठिरहेको समयमा लुँइटेललाई उम्मेदवारको सिफारिस गरिएको हो ।

क्षेत्र नम्बर १ परम्परागत रूपमा एमाले र कांग्रेसको गढ मानिए पनि लुँइटेलको उम्मेदवारीसँगै चुनावी प्रतिस्पर्धा थप कडा हुने देखिएको छ। लुँइटेललाई काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने निर्णयले युवा नेतृत्व, विकासमैत्री सोच र जेनजी आन्दोलनको भावना राजनीतिक मैदानमा पुर्‍याउने सङ्केत गरेको छ ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले काठमाडौँ क्षेत्र नम्बर १ बाट विराज थापा, रेवती प्रसाद दाहाल र मेनका भण्डारीलाई पनि सिफारिस गरेको छ।