काठमाडाैँ । नियमित महाधिवेशन हुन नसकेको कारण नेपाली काँग्रेसमा विशेष महाधिवेशनको तयारी सुरू भएको छ। पार्टी केन्द्रीय समितिको निर्णय अनुसार यही पुस ६ देखि २८ गतेसम्म १५ औँ राष्ट्रिय महाधिवेशन गर्ने कार्यक्रम तय भए पनि, अधिवेशनका तहगत कार्यक्रमहरू अघि बढाउन नसकिएपछि विशेष महाधिवेशन पक्षधरहरूले पहल थालेका हुन्।
पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने, “पार्टी सभापति शेरबहादुर देउवाले पुस २८ भित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने विधानको बाध्यकारी व्यवस्थालाई समेत लत्याउन खोजेका कारण विशेष महाधिवेशनको तयारी अघि बढाइएको हो।”
उनले थपे, “बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते हस्ताक्षर संकलन गरेर केन्द्रिय कार्यालयमा बुझाएका थिए। सोहीअनुसार पार्टीको नीति, नेतृत्व र कार्यदिशा तय गर्न अब विशेष महाधिवेशन अपरिहार्य भएको छ।”
शिवाकोटीका अनुसार १४ औँ महाधिवेशनका प्रतिनिधिहरूले नै पार्टीको आगामी कार्यदिशा र नीतिका सन्दर्भमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्नेछन्।
महाधिवेशनको अध्यक्षताको लागि सभापतिलाई अनुरोध गरिने तयारी पनि भइरहेको छ। पार्टी महामन्त्री गगनकुमार थापा प्रतिवेदन तयार पार्न व्यस्त रहेको र विधानअनुसार सबै प्रक्रियालाई मिलाएर विशेष महाधिवेशन अघि बढाइने शिवाकोटीले जानकारी दिए ।
काँग्रेसको १४ औँ महाधिवेशनमा रहेका ४,७४३ प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए। शिवाकोटीले भने, “१५ औँ महाधिवेशन हुन नसकेको कारण, अब विशेष महाधिवेशनको तयारीमा लागिएको छ। २७ र २८ पुसमा काठमाडौँको भृकुटीमण्डपमा हल बुकिङ गरिसकिएको छ।”
उनले पार्टीभित्र प्रक्रिया रोक्न खोजिएको र कतिपय स्थानमा डाटा इन्ट्री रोकिए पनि, १४ औँ महाधिवेशनका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्व चयन र नीति निर्धारण हुने स्पष्ट पारे। शिवाकोटीले भने, “काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आन्तरिक लोकतन्त्रको लागि आवश्यक तयारी नगर्दा समस्या आउँछ। जनताको विश्वास कायम गर्न विशेष महाधिवेशन अपरिहार्य छ।”



प्रतिक्रिया दिनुहोस्