काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धरान र इटहरीका बजारमा सङ्कलन गरिएको फलफूल तथा तरकारीको नमुना परीक्षण गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बिराटनगरको प्रयोगशालामा गत ७, ८ र १४ गते नमुना परीक्षण गरेको हो।
धरान उपमहानगरपालिकाको योक तथा खुद्रा फलफूल र तरकारी बजारबाट ३५ वटा नमुना सङ्कलन गरिएको थियो। यी नमुनामा टमाटर, फूलकोबी, सुन्तला, घिउ सिमी, करेला, मुला, टाटे सिमी, कौका, हरियो मटर कोशा, अदुवा, प्याज, धनियाँ, रायो साग, पालुङ्गो साग, किवी, बन्दाकोबी, सुप साग, चम्सुर साग, स्ट्रबेरी, एभोकाडो, गाजर, चोइ सम, बकचोई, सिमी, सिमे साग, पोथ्रे सिमी र आलु समावेश थिए।
त्यसैगरी, इटहरी उपमहानगरपालिकाबाट २६ वटा नमुना सङ्कलन गरिएको थियो। यी नमुनामा टमाटर, फूलकोबी, कौका, स्कुसको जरा, गोलो एभोकाडो, करेला, गाजर, ब्रोकाउली, धनिया, लामो एभोकाडो, हलुवा बेद, हिउदे सिमी, प्याजको पत्ता, रायो साग, पालुङ्गो, अमला, ठूलो रातो खुर्सानी, बैगुन, डल्ले च्याउ, चुचे करेला, छाता च्याउ, , लट्टे साग, रुख टमाटर र सिमी थिए।
दुबै बजारबाट सङ्कलित नमुनाको प्रयोगशालामा गरिएको जीवनाशक विषादी परीक्षणमा कुनै पनि नमुनामा जोखिमजन्य विषादी अवशेष फेला परेन। परीक्षण नतिजा अनुकूल देखिएको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्