नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने


काठमाडौँ । नेपाल निर्यात परिषदले १० औँ निर्यात दिवस मनाउने भएको छ । निर्यात परिषद्को २८ औँ वार्षिक साधारण पारेर दिवस मनाउने तयारी गरिएको हो ।

नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण तथा १० औँ निर्यात दिवसका बारेमा जानकारी दिन आज काठमाडौँमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले निर्यात दिवसमा निर्यात क्षेत्रसँग सरोकार राख्ने सरकारी, निजी, विदेशी तथा अन्य निकायहरूको उपस्थिति रहने जानकारी दिए ।

यसले निर्यात क्षेत्रसँग सम्बन्धित सरोकारका विषयहरुको बारेमा उजागर गर्न र नीति निर्माण तहमा रहेका राज्यका निकायलाई झक्झक्याउन पनि महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

नेपाल निर्यात परिषद् तथा व्यापार तथा निर्यात प्रवर्धन केन्द्रको लागत साझेदारीमा आयोजना गरिने निर्यात दिवस २०८२ को प्रमुख उद्देश्यहरू नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्वबारे नीति निर्माता, निजी क्षेत्र र आम नागरिकमा चेतना अभिवृद्धि गर्ने, सरकार र सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गर्ने रहेको छ ।

यस्तै निर्यात प्रवर्धनमार्फत उत्पादनमुखी, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने, हस्तकला, कृषि, घरेलु तथा साना–मझौला उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै नेपाली उत्पादनको पहिचानमा सुदृढ गर्ने, निर्यात व्यापारमा देखिएका नीतिगत, संरचनागत तथा व्यवहारिक समस्या, चुनौती र अवसरवारे सरोकारवालाबीच खुला संवाद र छलफलको वातावरण सिर्जना गर्र्नु रहेको श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले देशको आर्थिक विकास र अर्थतन्त्रको वृद्धिका लागि निर्यात व्यापारले महत्वपूर्ण भुमिका खेल्ने गरेको समेत बताए ।

उनकाअनुसार निर्यात व्यापारबाट देशमा उत्पादन, रोजगारी, आम्दानी तथा पूँजी प्रवाहमा सिधा तथा सकारात्मक प्रभाव पर्ने हुदाँ यसलाई अर्थतन्त्रको चालकका रुपमा मान्नुपर्छ । उत्पादन, रोजगारीका पक्षमा ध्यान दिन नसक्दा नदिँदाको परिणाम स्वरूप नेपालले हरेक दशकमा राजनीतिक आन्दोनलन तथा उथलपुथलको सामना गर्नुपरेको उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले भने,“यस राजनीतिक उथलपुथलले देशमा आर्थिक विकास, रोजगारी सिर्जना र सुशासन कायम राख्न नसक्दा देशको अस्तित्व नै धरापमा पर्नसक्ने अवस्थासम्म आउने रहेछ भन्ने पाठ पढाएको छ । झन्डै आठ दशकदेखि नेपाल राजनीतिक एजेन्डामै केन्द्रित हुदै आएको भएपनि अब आर्थिक एजेन्डा केन्द्रित हुनु जरुरी छ ।”

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा सोयाविन तेल, फलाम तथा फलामका उत्पादनहरु, यार्न, सूर्यमुखि तेल, ऊनी गलैँचा, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, जुस, अलैंची, प्लाईउड, ऊनी फेल्टका उत्पादन, चिया, कुकुर बिरालाका आहारा, पिना, पश्मिना शल, कपडा, कत्या, पामतेल, चाऊचाऊ, सिमेन्ट प्रमुख रुपमा रहेको जानकारी दिए ।