काठमाडाैँ । नेपाल पर्यटन बोर्डले हालै आफ्नो २७ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा सार्वजनिक तथ्यांकहरूले सन् २०२५ मा नेपाल भित्रिने पर्यटकको संख्या र उनीहरूको बसाइ अवधि दुवैमा वृद्धि भएको देखाएको छ ।
तर यो उत्साहजनक तथ्यांकको पछाडि अंकगणित मात्र छैन, नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन थालिएको एक ‘मौन क्रान्ति’ पनि लुकेको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित ‘दिगो पर्यटन परियोजना’ ले परम्परागत पर्यटनको परिभाषा बदल्दै समावेशीताको नयाँ बाटो कोर्न सफल भएको हो।
गन्तव्यको विकेन्द्रिकरणः सगरमाथा भन्दा पर
विगत लामो समयदेखि नेपालको पर्यटन सगरमाथा (एभरेस्ट बेस क्याम्प) र अन्नपूर्ण सर्किटजस्ता स्थापित गन्तव्यहरूमा मात्र केन्द्रित रहँदै आएको थियो । तर दिगो पर्यटन परियोजनाले अब पर्यटनलाई विकेन्द्रित गर्ने रणनीति लिएको छ ।
परियोजना प्रमुख धर्म दवाडीकाअनुसार अब चल्तीका पदमार्गमा मात्र निर्भर नभई ओझेलमा परेका तर उच्च सम्भावना बोकेका गन्तव्यहरूको विकासमा जोड दिइएको छ । “हामीले अपि, मनास्लु र कञ्चनजङ्घाजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर तिनका पदमार्ग र सेवा सुविधाको स्तरोन्नति गरिरहेका छौँ,” दवाडी भन्छन्, “राष्ट्रिय स्तरका पदमार्गहरूको दायरा फराकिलो बनाउनु आजको आवश्यकता हो ।”
५० करोडको ‘अदृश्य बजार’ र बहिरा गाइड
परियोजनाले विश्व पर्यटन बजारमा रहेको ठूलो ’ग्याप’ र सम्भावनालाई पहिचान गरेको छ । तथ्यांकअनुसार विश्वमा करिब ५० करोड मानिसहरू बहिरा वा सुस्त श्रवण शक्ति भएका छन् । भाषा र संवादको कठिनाइले खुम्चिएर बसेको यो विशाल जनसंख्यालाई आकर्षित गर्न नेपालले दक्षिण एशियामै उदाहरणीय पहल गरेको छ ।
परियोजनाले नेपालमै पहिलो पटक ‘बहिरा ट्रेकिङ गाइड’ (Deaf Trekking Guide) उत्पादन गरेको छ । “संसारका ५० करोड बहिरा जनसंख्यामध्ये केही अंश मात्रै नेपाल भित्र्याउन सकियो भने पनि हाम्रो वार्षिक लक्ष्यमा २ देखि ४ लाख पर्यटक थप्न सकिन्छ,” परियोजना प्रमुख दवाडी बताउँछन् ।
काठमाडौँ र पोखरामा केन्द्रित रहेर बहिरा युवाहरूलाई ट्रेकिङ गाइड मात्र नभई बरिस्टा (कफी बनाउने) र हस्तकलाको तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ । यसले एकातिर रोजगारी सिर्जना गरेको छ भने अर्कोतिर विश्व समुदायमा नेपाललाई ‘बहिरा–मैत्री’ (Deaf–friendly) गन्तव्यका रूपमा चिनाउँदै छ ।
ह्विलचियरमा कला र इन्द्रेणी पर्यटन
समावेशीताको यो अभियानमा शारीरिक रूपमा फरक क्षमता भएका र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि पर्यटनको मूलधारमा ल्याइएको छ । ह्विलचियर प्रयोगकर्ताहरूलाई ‘कन्टेम्पररी आर्ट’ (समकालीन कला) को तालिम दिइएको छ, जसले गर्दा उनीहरू पर्यटकीय गन्तव्यमै बसेर लाइभ आर्ट सिर्जना गरी आम्दानी गर्न सक्ने भएका छन् ।
“हाम्रा पर्यटकीय गन्तव्यहरूमा उहाँहरू बसेर आर्टमार्फत स्वरोजगार बन्न सक्नुहुन्छ भन्ने विचारले यो कार्यक्रम ल्याइएको हो र यसको नतिजा असाध्यै सुखद देखिएको छ,” दवाडीले भने ।
त्यस्तै, सीमान्तकृत मानिने लैंगिक अल्पसंख्यक समुदायलाई पनि पर्यटनमा सम्मानजनक स्थान दिने प्रयास परियोजनाले गरेको छ ।
दक्ष जनशक्ति र एकीकृत विकास
युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा परियोजनाले नेपालमै अवसर सिर्जना गर्न ¥याफ्टिङ गाइडहरूको क्षमता अभिवृद्धि र लाइसेन्सिङमा सहजीकरण गरेको छ । साथै, राष्ट्रिय निकुञ्जका नेचर गाइडहरूलाई ‘वाइल्डलाइफ फोटोग्राफी’ को तालिम दिएर पर्यटकको बसाईं लम्ब्याउने रणनीति लिइएको छ ।
पर्यटनलाई तल्लो तहदेखि नै बुझाउन देशका १ सय ५० भन्दा बढी स्कुल र कलेजमा ‘दिगो पर्यटन क्लव’ गठन गरिएका छन् । अपि हिमालजस्ता दुर्गम क्षेत्रमा केवल बाटो बनाएर मात्र नभई, स्थानीयलाई उद्यमशीलता, उद्धार र प्राथमिक उपचारको तालिम दिएर ‘एकीकृत प्याकेज’ मा काम भइरहेको छ ।
यसले गन्तव्यलाई सुरक्षित र भरपर्दो बनाउन मद्दत पु¥याएको छ । पर्यटन बोर्ड र यूएनडीपीको यो सहकार्यले पर्यटन केवल घुमघाम मात्र नभई सामाजिक न्याय र आर्थिक रूपान्तरणको माध्यम हो भन्ने पुष्टि गरेको छ । अपाङ्गता भएका, सीमान्तकृत र स्थानीय समुदायको मुस्कानमा नै अबको ’समृद्ध नेपाल’ को तस्बिर कोरिएको छ ।



प्रतिक्रिया दिनुहोस्