तीन दिनसम्म तराईमा हुस्सु र कुहिरो, पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना


काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि देशभरको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरोको प्रभाव कायमै रहनेछ भने पहाडी र हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ।

महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। राति पनि तराईका धेरै स्थानमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी पुष २२ गते (भाेलि) दिउँसो पनि तराई भू–भागमा हुस्सु तथा कुहिरो कायमै रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहँदै एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। रातिको समयमा तराईका धेरै स्थानमा हुस्सु रहनेछ भने कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार पुष २३ गते (पर्सी) दिउँसो पनि तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने तराईका धेरै स्थानमा हुस्सु रहने र देशका पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

मौसम पूर्वानुमान महाशाखाले हुस्सु तथा कुहिरोका कारण विशेषगरी तराई क्षेत्रमा दैनिक जनजीवन, यातायात र हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।