काठमाडौँ । फस्ट विमेन्स टी–२० वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेत्रहीन महिला क्रिकेट टोली नेपाललाई काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।
क्रिकेट एसोसिएसन फर द ब्लाइन्ड इन इन्डियाको आयोजनामा भारत र श्रीलंकामा सम्पन्न उक्त विश्वकप कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म सञ्चालन भएको थियो।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले उपविजेता नेपाली टोलीलाई सम्मान गर्दै खेलाडीहरूका लागि जनही एक लाख रुपैयाँ र व्यवस्थापकहरूका लागि जनही ५० हजार रुपैयाँका दरले नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
खेलाडीहरूको सम्मान तथा प्रोत्साहनका लागि आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रवक्ता नविन मानन्धर, सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी., समितिका सदस्यहरू, कार्यपालिका सदस्यहरू, टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक के.सी. ले नेत्रहीन महिला क्रिकेट टोलीलाई आगामी प्रतियोगिताका लागि आवश्यक व्यवस्थापकीय सहयोग महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले खेल जित्न खेलाडीमा जत्तिकै दर्शकमा पनि भावनात्मक लगाव हुने उल्लेख गर्दै क्रिकेटले खेलाडी र दर्शक दुवैलाई जोड्ने भएकाले यसको विकासका लागि महानगरपालिका निरन्तर लागिरहने बताए ।
टोलीकी कप्तान गीता पौडेलले आज प्राप्त सम्मान सरकारतर्फबाट पाएको पहिलो औपचारिक सम्मान भएको बताउँदै यसको मूल्य नगद वा जिन्सी सामग्रीसँग तुलना गर्न नसकिने उल्लेख गरिन्। उनले टोलीका लागि नियमित अभ्यास गर्ने मैदानको आवश्यकता रहेको भन्दै काठमाडौँ महानगरपालिकाले आवश्यक पूर्वाधार उपलब्ध गराउने विश्वास व्यक्त गरिन् ।
त्यसैगरी टोली नेता पवन घिमिरेले खेलाडीहरूलाई बोलाएर गरिएको कार्यक्रम केवल सम्मानमा सीमित नरही पहिचान र हौसलाको स्रोत बनेको बताए । उनले अब महानगरपालिकाबाट पारा स्पोर्ट्स एकेडेमी निर्माण हुने अपेक्षा पनि व्यक्त गरे ।
उपविजेता नेपाली टोलीमा कप्तान गीता पौडेल र उपकप्तान विनिता पुनसहित सुस्मा तामाङ, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल सहभागी थिए ।
टोलीका मुख्य प्रशिक्षक पुरनसिंह खत्री, सहप्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सहव्यवस्थापक भावना के.सी. तथा टोली नेता पवन घिमिरे रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्