देशभरका भन्सार नाकामा लागू भएको अनलाइन मूल्याङ्कन डाटाबेस प्रणालीले कसरी काम गर्छ ?


काठमाडाैँ । सरकारले भन्सार जाँचपासमा प्रयोग हुँदै आएको सन्दर्भ मूल्य पुस्तिका खारेज गर्दै अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

प्रणाली लागू भएसँगै भन्सार मूल्यांकनको प्रक्रिया पूर्णतः कारोबार मूल्यमा आधारित बनेको छ । यसले आयात–निर्यात प्रक्रियामा पारदर्शिता बढाउने र नक्कली बिल–बिजकको प्रयोगलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार भदौ ८ गतेदेखि विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, चोभार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सुरू गरिएको अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली पुस १८ गतेदेखि बाँकी रहेका १८ वटा भन्सार कार्यालयमा पनि लागू गरिएको छ ।

अब आसिकुडा प्रणाली लागू भएका देशभरका सबै भन्सार नाकाबाट यही प्रणालीमार्फत जाँचपास हुनेछ ।नयाँ व्यवस्थाअनुसार व्यवसायीले घोषणा गरेको कारोबार मूल्यलाई आधार मानेर भन्सारले मालवस्तु जाँचपास गर्नेछ । भन्सार बिन्दुसम्म आइपुग्दा लागेका सबै खर्च जोडेर कायम हुने मूल्य नै कारोबार मूल्य मानिने भण्डारीले स्पष्ट पारे ।

विगतमा सन्दर्भ मूल्यका आधारमा जाँचपास हुँदा नक्कली बिल–बिजक पेश हुने, भन्सारले आफैं मूल्य मिलाएर खोजिनिति नगर्ने अवस्था रहेको उनको भनाइ छ ।

अनलाइन मूल्याङ्कन प्रणाली लागू भएपछि व्यवसायीलाई वास्तविक कारोबार र सही कागजात पेश गर्न बाध्य बनाएको भण्डारीको दाबी छ ।

सही बिल–बिजक पेश भएमा त्यसैका आधारमा जाँचपास गरिनेछ भने गलत वा झुटा विवरण आएमा जरिवानाको व्यवस्था गरिएको छ । यसले निजी क्षेत्रलाई इमान्दार कारोबारतर्फ प्रोत्साहन गर्ने वातावरण सिर्जना गरेको उनले बताए ।

महानिर्देशक भण्डारीका अनुसार यस प्रणालीले विगतमा व्यवसायीले उठाउँदै आएका ‘भन्सारले बढी मूल्याङ्कन गर्‍यो’, ‘अत्यधिक भन्सार तिर्नुपर्‍यो’ र ‘भ्याट बिल जारी गर्न समस्या भयो’ जस्ता गुनासाहरू पनि सम्बोधन गरेको छ । मुहानमै पारदर्शिता कायम भएकाले भ्याटसम्बन्धी समस्या समेत क्रमशः समाधान हुँदै जाने अपेक्षा गरिएको छ ।

प्रणालीसँगै एआईमा आधारित जोखिम व्यवस्थापन प्रणाली पनि लागू गरिएको छ । यसले कुनै वस्तुको घोषणा गरिएको मूल्य वास्तविक मूल्यभन्दा अस्वाभाविक रूपमा तल वा माथि भएमा स्वतः पहिचान गर्नेछ । त्यसका आधारमा भन्सार अधिकारीले आवश्यक जाँच गरी जाँचपास प्रक्रिया अघि बढाउनेछन् ।

आसिकुडा प्रणालीमा विगतका प्रज्ञापनपत्र रेकर्ड सुरक्षित रहेकाले कुन व्यवसायीले कुन मूल्यमा कुन वस्तु आयात गर्‍यो, कुन एजेन्टले घोषणा गर्‍यो र कुन अधिकारीले जाँचपास गर्‍यो भन्ने विवरण सहजै हेर्न सकिने अवस्था रहेको छ ।

भन्सार प्रशासनसँग निजी क्षेत्रले करिब २७ वर्षदेखि उठाउँदै आएको सन्दर्भ मूल्य हटाउनुपर्ने माग अब सम्बोधन भएको भन्दै भण्डारीले यस प्रणालीले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई वास्तविक कारोबार मूल्यमा आधारित, पारदर्शी र विश्वसनीय बनाउने आधार तयार गरेको बताए।