कीर्तिमानी आरोही हरि बुढामगरद्वारा अन्टार्कटिकाको सर्वोच्च शिखरको सफल आरोहण,‘सभेन समिट’ पुरा


काठमाडौँ । कीर्तिमानी आरोही हरि बुढामगरले सातै महादेशका सात उच्च शिखरको आरोहण पुरा गरेका छन् ।

अन्टार्कटिका महादेशको उच्च शिखर माउन्ट भिन्सन आरोहण पुरा गरेसँगै बुढामगरले सेभेन समिटको सपना पुरा गरेका हुन् ।

बुढामगरको टोली २०२६ जनवरी ६ तारिख राति २२ः०० बजे ४,८९२ मिटर उचाइको माउन्ट भिन्सनको शिखरमा पुगेको हो ।

शिखरमा पुगेपछि हरीले बुढामगरले भने,“यदि तपाईंको सपना छ र तपाईं त्यसमा समर्पित हुनुहुन्छ र कहिल्यै हार मान्नुहुन्न भने, जीवनमा जे भए पनि पनि तपाईंले जे पनि हासिल गर्न सक्नुहुन्छ ।”

बुढामगरले सगरमाथा आरोण गरेर सभेन समिट अभियान सुरु गरेका थिए ।

बुढामगरले विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा २०८० जेठ ५ गते सफलतापूर्वक आरोहण गरेका थिए ।

माउन्ट भिन्सनको सफल आरोहणसँगै पूर्वगाेर्खा सैनिक बुढामगरले विश्वका सात उच्च शिखर आरोहण गर्ने पहिलाे ‘डबल एम्प्युटी एभोब नी(घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

बुढामगरले भने,“हामीले देखाएका छौँ कि केही पनि असम्भव छैन र अपाङ्गता सम्बन्धी चेतना जगाएका छौँ, अरूलाई आफ्नो ‘पहाड’ चढ्न र जुनसुकै सपना किन नहोस् सपना पूरा गर्न प्रेरित गरेका छौँ ।”

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए ।

सेभेन समिटको सफलता पुरा गरेपछि बुढामगरले अबको जीवनको अधिकांश समय नेपालमा बिताउने बताएका छन् । नेपालमा अपाङ्ग सचेतना र आर्थिक विकासको क्षेत्रमा योगदान गर्ने उनले सुनाए ।

“यो मेरो सफलता विश्वभरका अपाङ्ग व्यक्तिको सफलता हो, नेपालको सपना हो । नेपाल आमाको काखमा हुर्केको मैले जवानी वेलायतको लागि व्यतित गरें, अब अलिक धेरै नेपाल आमाको सेवामा लाग्ने योजना छ ।”

अन्टार्कटिकाको सर्वोच्च शिखर चढ्दा हरिसँगै अविरल राई, मिङ्मा शेर्पा र आरोहण नेता जाङ्बु शेर्पा थिए ।

बुढामगरले भने,“अपाङ्गता सम्बन्धी धारणा परिवर्तन एकै रातमा हुने कुरा होइन । सगरमाथा आरोहणपछि मैले यो मिशनमा आफ्नो जीवन समर्पित गरेको छु । कृपया मलाई विश्वभर अपाङ्गता सम्बन्धी चेतना फैलाउन मद्दत गर्नुहोस् । यो सन्देश प्रत्येक अपाङ्गता भएका व्यक्ति, उनका प्रियजन, समाज र अधिकारीहरूसम्म पुग्नुपर्छ । ”