काठमाडौँ । रोल्पाबाट प्रतिनिधि सभाको चुनाव लड्ने तयारी पछि नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’बिच गोप्य छलफल भएको छ ।
दुबै पार्टीका राेल्पा जिल्ला सङ्गठनले विप्लव र अनन्तलाई चुनावका लागि सिफारिस गरेका छन् ।
नेकपाबाट एक नम्बरमा प्रचण्ड र २ नम्बरमा पुनको नाम सिफारिस गरे पनि प्रचण्डले रुकुम पूर्वबाट चुनाव लड्ने बताइसकेका छन् ।
जिल्ला सङ्गठनहरूले चुनावका लागि नाम सिफारिस गरेपछि विप्लव र अनन्तले केही दिन अघि गोप्य छलफल गरेका हुन् ।
छलफलका लागि अनन्त विप्लव निवास हरिसिद्धी, ललितपुर पुगेका थिए । छलफलका क्रममा कुनै निष्कर्ष ननिस्किएको स्रोतको भनाई छ । छलफलका क्रममा अनन्तले विप्लवलाई ‘तपाईं नै चुनाव लड्ने हो भने त सोच्नु पर्ने भयो’ भनेका थिए ।
अनन्तले कपिलवस्तुमा वा रोल्पाबाहेक छानेको ठाउँमा सहयोग गर्ने आफ्नो पार्टी तयार रहेको बताएका थिए ।
विप्लवले पनि पार्टीले रोल्पाबाटै चुनाव लडाउने निष्कर्ष गरेको सुनाएका थिए । विप्लवले पनि अनन्तलाई रोल्पाबाहेक अन्य ठाउँमा सहयोग गर्ने बताएका थिए । छलफलका क्रममा दुबैले ‘सल्लाह गरौँला’ भनेर छुटेको एक नेताले जानकारी दिए ।
अनन्तले यसपटकको कार्यकाल पुरा गर्न नपाएकाले रोल्पाबाट दोहोरिने इच्छा भएको आशय व्यक्त गरेका थिए ।
विप्लवले रोल्पाबाट चुनाव लड्ने निर्णय गरिसकेका छन् । उनी उम्मेदवारी दर्ताका लागि रोल्पा जान लागेको पार्टी निकट स्रोतले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस्