काठमाडाैँ । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले साना तथा मझौला उद्योगहरूलाई प्रवर्धन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभालाई आईतवार सम्बोधन गर्दै श्रेष्ठले त्यस्ता उद्योगलाई प्रवर्धन गर्ने जिम्मेवारी बागमती सरकारको समेत रहेकाले त्यसका लागि आफूहरू लागि परिरहेको बताइन् ।
श्रेष्ठकाअनुसार उद्योगी व्यवसायीहरूको व्यवसायीलाई प्रवर्धन गर्नका लागि वागमती सरकार अन्तर्गतका १३ वटै जिल्लाबाट उत्कृष्ट उद्यमीहरु छनोट गरेर सम्मान गर्ने गरिएको छ । व्यवसायीहरुका समस्या समाधान गरेर अघि बढ्न वागमती सरकार तयार रहेको समेत उनले बताइन्। मन्त्री श्रेष्ठले वागमती सरकारले हस्तकलालाई प्रवर्धन गर्न प्रत्येक वर्षको मंसिर २८ गते हस्तकला दिवस मनाउने गरी निर्णय गर्न लागेको जानकारी समेत दिइन् ।
अहिले उद्योग धन्दा नविकरण दर्ता गराउन झन्झटिलो रहेको गुनासाहरू आइरहेको बताउँदै त्यसलाई समाधानका लागि उद्योग मन्त्रालयमा एउटा सफ्टवेयर विकास गरेर प्रविधिमैत्री बनाउन थालिएको उनले जानकारी दिइन् । वागमती सरकार अन्तर्गतका १३ वटै जिल्लाबाट घर बसेरै उद्योग व्यवसाय दर्ता नविकरण गर्न सकिने व्यवस्था मिलाउन लागिएको मन्त्री श्रेष्ठले बताइन् । उद्यमीहरूले कार्यालय धाएर नविकरण र दर्ता गर्नुपर्ने अवस्थाको डेढ महिनामै अन्त्य गरिने बताइन्।


प्रतिक्रिया दिनुहोस्