रोल्पामा चुनाव लड्ने भएपछि नेकपा (माओवादी)का महासचिव विप्लवद्वारा तयारी सुरु,ललितपुरमा छलफल


काठमाडौँ । रोल्पाबाट चुनाव उठ्ने निश्चित भएपछि नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तयारी सुरु गरेका छन् ।

विप्लवले आन्तरिक छलफल र भेला सुरु गरेका हुन् । विप्लवले आज ललितपुरमा रोल्पाबाट काठमाडौँमा आएर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग छलफल गरेका छन् ।

महासचिव विप्लवले एकपटक रोल्पाली जनताको बिचमा जान चाहेको बताउँदै सहयोगको लागि आग्रह गरेका छन् ।

उनले भने,“पार्टी र रोल्पाली जनताको आकाङ्क्ष एकपटक रोल्पाबाटै हुनुपर्छ भन्ने छ । पार्टीले पनि जिल्लाबाट मलाई सिफारिस गरेको छ । एकपटक रोल्पाली जनताको बिचमा गएर आव्हान गर्छौँ ।”

नेकपा (माओवादी) रोल्पा जिल्ला सङ्गठनले महासचिव विप्लवलाई रोल्पाबाट प्रतिनिधि सभा चुनावका लागि एकल सिफारिस गरेको छ ।

सिफारिसलगत्तै विप्लवले तयारी सुरु गरेका हुन् । कार्यक्रममा स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले महासचिव विप्लव रोल्पाबाट उठ्ने निश्चित भएको बताए ।

लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका बुढामगरले भने,“यो पक्का हो कि महासचिव कमरेड रोल्पाबाटै चुनाव लड्नुहुन्छ । लुम्बिनी प्रदेश इन्चार्जको हैसियतले पनि यो भेलामा मैले भने कि महासचिव कमरेड रोल्पाबाट चुनाव लड्नुहुन्छ ।”

महासचिव विप्लवले देशैभर आफ्नाे पार्टीले उम्मेदवारी दिने बताए ।

उनले भने,“देशैभर हामी उम्मेदवारी दिन्छौँ र हाम्रा उम्मेदवारलाई जिताउन अधिकतम प्रयास गर्छौँ ।”

विप्लव पहिलो पटक प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दिन लागेका हुन् । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ ।