फेजाको आयोजनामा धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरू


काठमाडौँ । महिला आर्थिक पत्रकार संघ (फेजा) को आयोजनमा कैलालीको धनगढीमा दुई दिन प्रशिक्षण कार्यक्रम सुरू भएको छ ।

पुस २८ र २९ गते सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १६ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको छ । एशियाली विकास बैंक (एडिबीको ) सहयोगमा भर्खरै आर्थिक पत्रकारिता सुरू गरेका महिला पत्रकारहरुको क्षमता विकासका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको फेजाकी अध्यक्ष शर्मिला ठकुरीले बताइन् ।

यो कार्यक्रमले सुदुरपश्चित प्रदेशका महिला आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धिका साथै यस क्षेत्रका महिला पत्रकारहरूको सङ्ख्यामा पनि वृद्धि हुने अपेक्षा अध्यक्ष ठकुरीले गरेकी छिन ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पत्रकार महासंघ , कैलाली शाखाका सभापति श्रवण देउवाले फेजाले महिला पत्रकारहरूका लागि मात्र आयोजना गरेको प्रशिक्षण कार्यक्रमले आर्थिक पत्रकारितमा महिला पत्रकारहरूको रुचि बढ्ने अपेक्षा गरे । प्रदेश तथा स्थानीय तहमा सबै खालका समाचार बनाइरहेका महिला पत्रकारहरूलाई यो प्रशिक्षण कार्यक्रमले आर्थिक पत्रकारितामा थप सहजता प्रदान गर्ने विश्वास सभापति देउवाले लिएका छन् ।

एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यान्सनले सुदुरपश्चित प्रदेशमा कृषि , सीमापार व्यापार, पूर्वााधार विकास र पर्यटन जस्ता क्षेत्रमा विशेष चुनौति रहेको उल्लेख गरे ।

एडिबीको सहयोगमा आयोजित महिला पत्रकारहरुको क्षमता विकास कार्यक्रमले यहाँका चुनौतिको विषयलाई नेपालभर प्रभावकारी रुपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास इयानको छ । यो प्रशिक्षणको सिकाईले महिला पत्रकारहरूको आर्थिक तथ्याङ्क विश्लेषण गर्ने , निर्धक्क भएर प्रश्न सोध्ने र आर्थिक नीतिहरू नागरिकका लागि अर्थपूर्ण बनाउन सक्षम बन्ने अपेक्षा उनले राखे ।

पहिलो चरणमा काठमाडौँमा उपत्यकामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम निकै सफल भएको स्मरण गर्दै उनले प्रदेश स्तरमा आयोजना गरिएको कार्यक्रम पनि सफल बन्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा एडिबीका बरिष्ठ सञ्चार अधिकृत विनिता शाह, खड्का, एडिबीका अर्थशास्त्री मानवर खढ्का, एडिबीका बरिष्ठ सञ्चार सहायक बरुण बज्राचार्य, परामर्श दाता मुन प्रधान लगाएतको सहभागीता रहेको छ ।