प्रविधिमा आधारित बहुप्रकोपिय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन जरुरीः गृहमन्त्री अर्याल


काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले  खोज तथा उद्धारमा सबै तहका सरकारको क्षमतालाई थप वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।  विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि तीन तहकै सरकारबीचको शासकीय पद्धतिको सुदृढीकरण र प्रभावकारी समन्वय  सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे ।

यसका लागि सार्वजनिक लगानीका साथै निजी लगानी अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताए । प्रविधिमा आधारित बहुप्रकोपिय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनसक्दा पूर्वतयारीमा मद्दत मिल्ने र जनधनको क्षति कम हुने जिकिर गरे ।

गृहमन्त्री अर्यालले व्यवस्थित र दिगो विकासको अवधारणामा आधारित कार्यक्रमको परिणामुखी कार्यान्वयन आजको आवश्यकता भएको बताए ।

उनले पूर्वतयारी तथा बलियो संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । भूकम्प प्रतिरोधी संरचना निर्माणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।