काठमाडाैँ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टीका सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आतवार वरिष्ठ नेता डा. शेखर कोईरालाको पक्षले आयोजना गरेको भेला पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
नेता गुरुङले भेलामा सहभागी भएका सबै नेता र कार्यकर्ताहरूले पनि काँग्रेसको एकता कायम राख्नुपर्ने धारणा राखेको जानकारी दिए ।उनले पार्टीलाई एउटा घरको संज्ञा दिँदै परिवारका सदस्यबिच हुने विवादलाई सामान्य रूपमा लिनुपर्ने पनि उल्लेख गरे ।
उनले भने, “नयाँ परिस्थितिमा साथीहरूको कुरा सुन्नका लागि यहाँ भेला भएका हौँ। देशभरका साथीहरू आउनु भएको छ। त्यसकारण अहिले साथीहरूको कुरा सुन्ने, उहाँहरूको मन बुझ्ने काम भएको हो। कुनै पनि निर्णय गर्न यहाँ भेला भएको होइन। तर काँग्रेस मिलेर अघि बढ्नुपर्छ भन्ने धारणा आएको छ। हामी सबैको एउटै कुरा हो–मिलेर अघि बढ्ने हो। काँग्रेस भनेको एउटा घर हो, एउटा परिवार हौँ हामी। परिवारमा कहिलेकाहीँ झगडा हुने, को अगाडि बस्ने, को पछाडि बन्ने भन्ने सामान्य विषय हो। त्यसकारण यसलाई सामान्य रूपमा लिनुपर्छ।”
नेता गुरुङले काँग्रेस भित्रको विवादलाई अनावश्यक रूपमा ठूलो बनाएर हानिकारक नबनाउन पनि सबैलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्