काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सोमवार (आज) नै सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएर सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाडौँमा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै उनले देश निर्वाचनतर्फ अघि बढिसकेको अवस्थामा राप्रपा पूर्ण तयारीका साथ मैदानमा उत्रिएको बताएका हुन्।
अध्यक्ष लिङदेनले आगामी निर्वाचनलाई केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई व्यवस्था परिवर्तनको अभियानका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार राप्रपाले निर्वाचनलाई आन्दोलनको अभिन्न अंग मानेर अघि बढ्ने निर्णय गरिसकेको छ र त्यसअनुसार चुनावी तयारी तीव्र बनाइएको छ।
उनले भने, “मुलुक अब जबरजस्त रूपमा चुनावतर्फ अघि सरिसकेको छ। यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै आफ्ना सबै उम्मेदवारको पूर्ण सूची टुंग्याएर केही समयपछि सार्वजनिक गर्दैछ। हामी लोकतान्त्रिक पार्टी भएकाले चुनावमा सहभागी मात्र होइन, चुनावलाई आन्दोलनको अभिन्न अंगका रूपमा प्रयोग गर्ने निष्कर्षमा पुगेका छौँ र त्यसका लागि पूर्ण तयारी अवस्थामा छौँ।”
अध्यक्ष लिङदेनले देशको राष्ट्रवादी शक्तिको नेतृत्व राप्रपाले मात्रै गर्न सक्ने दाबीसमेत गर्नुभयो। उहाँका अनुसार राजसंस्था, सनातनी हिन्दुराष्ट्र र राष्ट्रवादी मूल्य–मान्यतालाई आत्मसात गर्ने विभिन्न शक्तिहरू राप्रपामा ध्रुवीकरण भइरहेका छन्।
कार्यक्रममा पत्रकार गजेन्द्र बुढाथोकी र कानून व्यवसायी भद्रप्रसाद नेपाललगायत विभिन्न व्यक्तिहरू राप्रपामा प्रवेश गरेका थिए। बुढाथोकी राप्रपाको समानुपातिक उम्मेदवार सूचीमा समेटिएका छन् भने भद्रप्रसाद नेपाललाई झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाले उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिइयो।


प्रतिक्रिया दिनुहोस्