काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई छुट्टै उद्योगका रूपमा स्थापित गर्ने सरकारको नीति रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटनसम्बन्धी विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री सिन्हाले पर्यटनसँग सम्बन्धित विविध गतिविधिहरू एउटै उद्योगअन्तर्गत समेटिने गरी विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले इतिहासका विभिन्न कालखण्डमा भएका घटनासँग जोडिएका पर्यटकीय गन्तव्यलाई ‘ऐतिहासिक पर्यटन’का रूपमा परिभाषित गर्न प्रश्ताव समेत गरे । उनले पर्यटन क्षेत्रको दिगो विकास, वर्गीकरण गर्दै मुलुकको आर्थिक उन्नतिको क्षेत्रसँग जोड्नुपर्नेमा जोड दिए ।
उनले भने, “हामीले पर्यटन क्षेत्रलाई छुट्टै उद्योगको रुपमा स्थापित गर्न खोजेका छौँ । पर्यटनसम्बन्धी विभिन्न क्रियाकलापहरु यसैभित्र संलग्न हुन्छन् । अहिले जेनजी आन्दोलनलाई युद्ध भन्न असहज हुन्छ । यसैगरी इतिहासका विभिन्न कालखण्डमा भएका पर्यटकीय क्षेत्र र घटनालाई एतिहासिक पर्यटन भन्न सकिन्छ । किनभने ट्राभल टूर वा पदयात्राअन्तर्गत अथवा कम्वाइनको रुपमा पनि गर्न सकिन्छ । त्यसकारण मैले यसलाई एतिहासिक पर्यटन भन्ने शब्दको रुपमा राख्न प्रश्ताव राखे ।”
छलफलमा बोल्ने अधिकांश सांसदहरुले पर्यटन क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्दै पर्यटन क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न ऐनलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्