उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्नूस्, कारबाही हुन्छः रामप्रसाद भण्डारी


काठमाडाैँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।

सञ्चारकर्मीहरूसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नगर्न सचेत गराए।

आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिए। निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे।

निर्वाचन हुँदैन की भन्ने शंका नगर्न पनि आग्रह गरे। उनले अब हुने निर्वाचन समयमै जसरी पनि हुनैपर्ने निर्वाचन भएकाले निर्वाचनको विकल्प भनेकै निर्वाचन भएको बताए ।