काठमाडाैँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको कार्यतालिकाअनुसार नै निर्वाचन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । उनले मनोनयनको मिति नसर्ने र यसमा कुनै पनि प्रकारको संशोधन नहुने बताए।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भण्डारीले चार महिनाअघि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार नै निर्वाचन सम्पन्न हुने जानकारी दिए ।उनका अनुसार उम्मेदवारहरूको मनोनयन माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। सो अवधिभित्र दल तथा स्वतन्त्र उम्मेदवारहरूले आ–आफ्ना मनोनयन पत्र दाखिल गर्न सक्नेछन्।
निर्वाचन प्रयोजनका लागि आचारसंहिता माघ ४ गते राति १२ बजेदेखि नै लागू भइसकेको उल्लेख गर्दै उहाँले आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न सबैलाई सचेत गराए । अब निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम पर सार्ने, संशोधन गर्ने, थप्ने वा घटाउने कार्य निर्वाचन आयोगबाट नहुने उनको स्पष्ट भनाइ छ।
प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले तोकिएको समयमै मनोनयन प्रक्रिया सम्पन्न भई त्यसपछि जाँचबुझको प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले आयोगले निर्धारण गरेको समयसीमाभित्र नै सबै प्रक्रिया सम्पन्न हुने र निर्वाचन पनि तोकिएकै मितिमा हुने दोहोर्याएर स्पष्ट पारे ।
लोकतन्त्रको सुन्दर पक्ष भनेकै नागरिकलाई चुन्ने र चुनिने अधिकार हुनु रहेको उल्लेख गर्दै उनले निष्पक्ष र सुसम्पन्न निर्वाचनका लागि सबै सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने बताए। तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु सबैको निष्ठा र दायित्व भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्