शान्ति–सुरक्षाका लागि प्रहरीको एकल प्रयास पर्याप्त छैन: आईजीपी कार्की


काठमाडाैँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा दिगो शान्ति–सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति–सुरक्षा नागरिक र प्रहरीबीचको सौहार्दपूर्ण तथा सहकार्यपूर्ण सम्बन्धबाट मात्रै सम्भव हुने स्पष्ट पारे ।

आईजीपी कार्कीका अनुसार विश्वका विकसित मुलुकहरूमा समेत प्रहरीको एकल प्रयासबाट मात्र शान्ति–सुरक्षा कायम हुन सकेको छैन। उनले प्रभावकारी शान्ति–सुरक्षाका लागि नागरिकको निरन्तर सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै प्रहरीका गतिविधिमा सक्रिय सहभागिता जनाउन नागरिकलाई आग्रह गरे ।

उनले भने, “प्रहरीको मूल जिम्मेवारी शान्ति र सुरक्षा कायम गर्नु हो। तर बर्दीधारी प्रहरीको एकल प्रयासले मात्रै यो लक्ष्य हासिल हुन सक्दैन। संसारका उन्नत भनिएका मुलुकहरूमा पनि नागरिक र प्रहरीबीचको साझेदारी बिना शान्ति–सुव्यवस्था सम्भव छैन। यही कारणले प्रहरीका हरेक क्रियाकलापमा नागरिकको निरन्तर सहयोग अपेक्षा गर्दै यो कार्यक्रम आयोजना गरिएको हो।”

आईजीपी कार्कीले विगतमा झगडा र द्वन्द्वमार्फत शान्ति स्थापना गर्न सकिन्छ भन्ने भाष्यहरू असफल भएको उल्लेख गर्दै शान्तिको माध्यमबाट मात्रै मुलुकमा स्थायी शान्ति र सुव्यवस्था कायम गर्न सकिने धारणा व्यक्त गरे । उनले आपसी समझदारी, संवाद र सहकार्य नै शान्ति स्थापनाको दीर्घकालीन आधार हुने बताए ।