दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले प्रदेशभित्रका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
पार्टीले गुल्मीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । गुल्मी क्षेत्र नम्बर १ बाट सुदर्शन बराल र क्षेत्र नम्बर २ बाट श्रीराम महत उम्मेदवार बनेका छन् । यस्तै, पाल्पा क्षेत्र नम्बर १ बाट होमबहादुर सुनारी र क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डेलाई उम्मेदवार बनाइएको छ।
यसैगरी अर्घाखाँचीबाट रामबहादुर चौहान उम्मेदवार चयन भएका छन् । नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट डा. शिवु जलेशा र क्षेत्र नम्बर २ बाट देवेन्द्र पौडेल उम्मेदवार बनेका छन् ।
रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिएको छ। रुपन्देही १ बाट देवेन्द्र पाण्डे, २ बाट सुभाष पाण्डे (विश्वदीप), ३ बाट फैज अहमद खान, ४ बाट बाबुलाल यादव र ५ बाट अहमद वकिल मुसलमान उम्मेदवार रहेका छन्।
कपिलवस्तुका तीन निर्वाचन क्षेत्रमा क्रमशः क्षेत्र नम्बर १ बाट कृष्ण कँवर, २ बाट बलराम तिवारी र ३ बाट एहसन अहमद खाँ उम्मेदवार चयन भएका छन्। यस्तै, पूर्वी रुकुमबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेका छन्।
रोल्पाबाट वर्षमान पुन (अनन्त), प्युठानबाट कृष्णबहादुर खड्का, दाङ १ बाट मेटमणि चौधरी, दाङ २ बाट निर्मल आचार्य र दाङ ३ बाट धनबहादुर मास्की उम्मेदवार छन्।
त्यसैगरी बाँके १ बाट नरेन्द्र पाण्डे, बाँके २ बाट दिपेन्द्र विष्ट र बाँके ३ बाट दिपक जिएम उम्मेदवार बनेका छन्। बर्दियाका दुई निर्वाचन क्षेत्रमा बर्दिया १ बाट विष्णुप्रसाद थारु र बर्दिया २ बाट सुरेश पन्तलाई उम्मेदवार बनाइएको छ।
पार्टीका अनुसार संगठनात्मक सन्तुलन, अनुभव, जनआधार र निर्वाचन रणनीतिलाई ध्यानमा राख्दै उम्मेदवार चयन गरिएको हो। उम्मेदवार टुङ्गिएसँगै लुम्बिनी प्रदेशमा नेकपाले चुनावी गतिविधि थप तीव्र बनाउने तयारी गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्