काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झविलाल डुम्रेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय नेतृत्वको निर्णयअनुसार डुम्रेलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरिएको हो।
रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले डुम्रेलाई उम्मेदवारीको पत्र हस्तान्तरण गरेका हुन्।
लामो समयदेखि पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका डुम्रे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय संगठन विभागका सदस्यसमेत रहेका छन्।
पार्टीभित्र संगठनात्मक अनुभव र स्थानीय तहमा राम्रो परिचय बनाएका डुम्रेलाई उम्मेदवार बनाउने निर्णयले स्याङ्जा–२ मा रास्वपाले सशक्त प्रतिस्पर्धा गर्ने संकेत दिएको छ।
आगामी निर्वाचनमा वैकल्पिक राजनीतिक धारलाई बलियो बनाउने उद्देश्यसहित उम्मेदवारी तय गरिएको पार्टी स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्