राष्ट्रिय झण्डा कपडा होइन, दुरुपयोग तत्काल रोक्नुपर्छ: संविधानविद् आचार्य


काठमाडाैँ । संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति आपत्ति जनाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राष्ट्रिय झण्डालाई आन्दोलन, आगजनी वा राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रवृत्ति तत्काल रोकिनुपर्ने बताएका हुन्।

डा. आचार्यका अनुसार पछिल्लो समय राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, झण्डाको आवरणमा देश जलाउने गतिविधि गर्ने तथा झण्डा ओढेरै मत माग्ने कार्यहरू देखिन थालेका छन्, जुन राष्ट्रिय मर्यादा र कानुनी मान्यताविपरीत छन्।

उनले राष्ट्रिय झण्डा कुनै कपडा नभई राष्ट्रको सम्मान र पहिचानको प्रतीक भएको उल्लेख गर्दै यसलाई दुरुपयोग गर्नु निन्दनीय कार्य भएको टिप्पणी गरेका छन्।

उनले यस्ता गतिविधिहरू स्पष्ट रूपमा बर्जित रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय झण्डाको गरिमा कायम राख्न कानुनको कडाइका साथ कार्यान्वयन हुनुपर्ने र दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने उनको भनाइ छ।