डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर रास्वपालाई सहयोग गर्न वाग्लेको आग्रह


काठमाडाैँ । डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्नुपर्ने सुझाव राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत डा. भट्टराईलाई आग्रह गर्दै पुराना राजनीतिक दलहरूले राजनीतिक–सामाजिक सशक्तिकरणका लागि व्यवस्था परिवर्तनमार्फत हासिल गरेका उपलब्धिहरूको संरक्षण गर्दै २१औँ शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ र वैकल्पिक राजनीतिक दल तथा अभियानबाट मात्रै सम्भव हुने धारणा अघि सारेका छन्।

वाग्लेले डा. भट्टराईले यही निष्कर्षका आधारमा ‘नयाँ शक्ति’ को अवधारणा अघि सारेको स्मरण गराउँदै त्यसपछि विकसित हुँदै आएको वैकल्पिक राजनीतिक जगमै आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव भएको उल्लेख गरेका छन्।

पूर्व प्रधानमन्त्रीका रूपमा डा. भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देशन गर्ने वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

उनले फागुन २१ पछि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक–प्रशासनिक, सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा डा. भट्टराईको अनुभवबाट धेरै कुरा सिक्न सकिने उल्लेख गरेका छन्।

यही सन्दर्भमा वाग्लेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सहयोग गर्न आग्रह गरेका छन्।