राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जन भावना अनुरूप सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक छः नारायणप्रसाद दाहाल


काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जनताको भावना र अपेक्षा अनुसार सञ्चालन गर्न सबै राजनीतिक दलहरूको सहयोग हुने विश्वास व्यक्त गरेका छन्। 

शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवेशनको शुभकामना मन्तव्य दिँदै उनले राष्ट्रिय सभाको गरिमा अभिवृद्धिमा सांसदहरूले आगामी दिनमा अझ व्यवस्थित भुमिका खेल्नुपर्ने जरुरी रहेको समेत बताएका हुन् ।

उनले राष्ट्रिय सभाले जनताको भावनाअनुसार कानून निर्माणमा धेरै काम गर्न आवश्यक रहेको समेत बताए ।

“सबै राजनीतिक दलहरूले १९ औ अधिवेशनलाई कामकाजी, उपलब्धिमूलक, जनताको भावना र अपेक्षा अनुरुप सभा सञ्चालनमा आवश्यक सल्लाह र सहयोग हुनेनै छ भन्ने अपेक्षा लिएको छु । यो हल निर्माणमा सहयोग गर्ने नेपाल सरकारलगायतका सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु,” उनले भने ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।