काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताएका छन्।
पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले शुक्रबार बस्ने बैठकका निर्णयले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गरेका हुन् ।
महामन्त्री पौडेलका अनुसार बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागेको हो। काँग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने तयारी गरेको र सो प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेश गरिने उनले जानकारी दिए। बैठकले त्यसबारे औपचारिक निर्णय गर्ने उनको भनाइ छ।
उहाँले यस अभ्यासलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्यायका रूपमा व्याख्या गरे। नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत् रूपमा प्रदान गर्न काँग्रेसले यो प्रक्रिया सुरू गर्न लागेको उनको दाबी छ।
संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्ने उद्देश्यले काँग्रेसले यो अभ्यास अघि बढाएको उनले बताए । अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पहिल्यै थाहा पाउने व्यवस्था बनाउन खोजिएको उनको भनाइ छ।
महामन्त्री पौडेलले भने, “आज बस्ने बैठकले निर्वाचन केन्द्रित भएर केही ठोस र ऐतिहासिक निर्णयहरू गर्दैछ। केन्द्रीय कार्यसमितिको निर्णयले देशभर एउटा नयाँ तरङ्ग सिर्जना गर्नेछ। निर्वाचनमा काँग्रेसप्रति मत आकर्षित गर्न आजको निर्णय महत्वपूर्ण हुनेछ। नेपाली काँग्रेसको इतिहासमै पहिलो पटक विधिवत् रूपमा निर्वाचन लक्षित निर्णय हुन लागेको हो।”
उनका अनुसार विशेष महाधिवेशनमा काँग्रेसले नेतृत्व र नीति दुवै परिवर्तन गर्ने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार काँग्रेस परिवर्तन भएको र अब देशको नेतृत्व पनि परिवर्तन गर्ने उद्देश्यका साथ नयाँ प्रस्ताव ल्याउन लागिएको उनले स्पष्ट पारे। फागुन २१ गते हुने निर्वाचनमार्फत नेपाली काँग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्ने निर्णय बैठकबाट हुने उनको भनाइ छ।
महामन्त्री पौडेलले नागरिकलाई प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य काँग्रेसले लिएको बताए। संसदीय निर्वाचनमा उम्मेदवारले प्रधानमन्त्रीसहित प्रतिस्पर्धा गर्ने अभ्यासको थालनी गर्दै प्रतिनिधिसभा सदस्य मात्र नभई मतदाताले आफ्नो मतमार्फत प्रधानमन्त्री को बन्छ भन्ने कुरा समेत तय गर्न सक्ने विधि स्थापित गर्न खोजिएको उनले उल्लेख गरे ।
उनले बैठकले निर्वाचनमा काँग्रेसप्रति मत आकर्षित गर्न अन्य महत्वपूर्ण निर्णयहरू पनि गर्ने जानकारी दिए। विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन भइसकेकाले अब देशको नेतृत्व परिवर्तनका लागि काँग्रेस नयाँ प्रस्तावसहित अघि बढ्ने उनको दाबी छ। सबै नेपालीको भावना प्रतिनिधित्व गर्ने उद्देश्यले काँग्रेसले सभापति गगन थापालाई मधेसबाट उम्मेदवार बनाएको पनि महामन्त्री पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस्