प्रतिनिधि सभा निर्वाचनः देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता


काठमाडाैँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने अधिकारको प्रयोग गर्दै उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

उनका अनुसार मनोनयन दर्तादेखि दाबी–विरोध, नामावली प्रकाशन र उम्मेदवारी फिर्ता लिने सम्पूर्ण कार्यक्रम देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। साथै, समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी कार्यक्रम पनि सँगसँगै अघि बढिरहेको उहाँले बताए ।

प्रवक्ता भट्टराईका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूचिविरुद्ध माघ ५ गतेदेखि १० गतेसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ। त्यसपछि प्राप्त दाबी–विरोधमाथि छानबिन गरी माघ २० गते अन्तिम बन्दसूची प्रकाशन गरिनेछ। अन्तिम बन्दसूची प्रकाशनपछि मतदान प्रक्रिया मात्र बाँकी रहने उनले स्पष्ट पारे।

बन्दसूची पेश भइसकेपछि बन्दसूचीमा समावेश भएका ५८ वटा निर्वाचन चिन्हलाई कायम राख्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ सुरू गरिसकेको जनाएको छ।

देशभरको कुल मतदाता संख्या १ करोड ८९ लाख रहेको र त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने निर्णयअनुसार आयोगले करिब दुई करोडभन्दा केही बढी मतपत्र छाप्नुपर्ने भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

हालसम्म समानुपातिकतर्फका करिब १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको र बाँकी करिब ५० लाख मतपत्र छपाइ दुई दिनभित्र सकिने उनले बताए ।

प्रत्यक्षतर्फको निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यसअनुसार मतपत्रको डिजाइन तयार गरी छपाइको काम सुरु गरिने जानकारी पनि दिए। समानुपातिक प्रणालीका मतपत्र देशभर एउटै हुने भए पनि प्रत्यक्षतर्फका मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने उनको भनाइ छ। आयोगले यो महिनाभित्रै सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ।

यसैगरी, मतदाता नामावलीसम्बन्धी काम पनि निरन्तर भइरहेको आयोगले जनाएको छ। चार प्रति छपाइ गर्नुपर्ने मतदाता नामावलीमध्ये एक प्रति छपाइ गरी सबै जिल्लामा पठाइसकिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।