स्याङ्जा–२ बाट तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि चुनावी समीकरण फेरियो


काठमाडाैँ । स्याङ्जा क्षेत्र नम्बर–२ बाट तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि चुनावी प्रतिस्पर्धा थप स्पष्ट भएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार टिकाराम रेग्मी र स्वतन्त्र उम्मेदवार घनश्याम पाण्डेय तथा दिलीप श्रेष्ठले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रलोपा उम्मेदवार रेग्मीले शुक्रबार उम्मेदवारी फिर्ता लिएसँगै उक्त पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झविलाल डुम्रेलाई समर्थन गर्ने निर्णय गरेको छ। दुई दलबिच पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत सहकार्य गर्ने र समानुपातिकतर्फ भने आ–आफ्नै पार्टी चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको जनाइएको छ।

रास्वपाका अनुसार यो सहमति जनभावना, विशेषगरी जेनजी पुस्ताको चाहना र परिवर्तनको आकांक्षासँग जोडिएको छ।

यसैगरी, स्वतन्त्र उम्मेदवार पाण्डेय र श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएपछि स्याङ्जा क्षेत्र नम्बर–२ मा अब १२ जना उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ।