इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नुपर्ने आवश्यकता छ : कार्यवाहक प्रमुख डंगोल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट पाठ सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको बताएकी छन् ।

शनिवारदेखि सुरू भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उनले शहीद सप्ताहलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्र नभई आत्ममन्थन र जिम्मेवारीबोध गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी हुन् ।

उनले इतिहास पढ्न वा पाठ्यक्रममा सीमित राख्नका लागि मात्र नभई त्यसलाई मनन गरेर व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गरिन्। इतिहासले जनताका लागि काम गर्नुपर्ने, अन्यायविरुद्ध सधैँ आवाज उठाउनुपर्ने र जनताप्रति सदैव कर्मठ रहनुपर्ने सन्देश दिने उनको भनाइ थियो ।

उनले भनिन्, “शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रूपमा मात्र नभई हामीले जिम्मेवारीबोध गर्ने दिनका रूपमा पनि लिनुपर्छ । इतिहास किताबका पानामा सीमित राख्नका लागि होइन, त्यसबाट सिकेर जीवनमा उपयोग गर्दै सही बाटोमा अघि बढ्नका लागि हो ।”

उनले शहीद शुक्रराज शास्त्रीले साहित्यमार्फत समाजमा चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रजातन्त्र स्थापनामा उनको योगदान अविस्मरणीय रहेको बताइन् ।