सहकारी दर्ता अभिलेखिकरणको म्याद फाल्गुन ११ गतेसम्म बढाइयो


काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरणको समयावधि थप गरेको छ ।

प्राधिकरणले फाल्गुन ११ गतेसम्मका लागि ३० दिन समय थप गर्ने निर्णय गरेको हो । प्राधिकरणका अनुसार ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२’ बमोजिम सहकारी संस्थाको दर्ता अभिलेखिकरण कार्य मिति २०८२ मंसिर १० गतेदेखि सुरू भएको थियो ।

मापदण्डको दफा ३(४) अनुसार सो कार्यको समयावधि २०८२ माघ १० गते समाप्त हुने व्यवस्था थियो । तर तोकिएको अवधिभित्र सबै सहकारी संस्थाको विवरण प्रविष्ट भई नसकेको र विवरण प्रविष्ट गर्ने कार्य निरन्तर रूपमा जारी रहेकाले समयावधि थप गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सम्बद्ध सबै सहकारी संस्थालाई थप गरिएको अवधिभित्र अनिवार्य रुपमा दर्ता अभिलेखिकरणको कार्य पूरा गर्न आग्रह गरेको छ ।