प्रतिनिधिसभा निर्वाचनः स्याङ्जा क्षेत्र नम्बर १ र २ बाट को–को छन् मैदानमा ?


काठमाडाैँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता र फिर्ता प्रक्रिया सकिएसँगै चुनावी प्रतिस्पर्धा स्पष्ट बन्दै गएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्तापछि स्याङ्जा क्षेत्र नं. १ र २ मा विभिन्न दलका साथै स्वतन्त्र उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

स्याङ्जा क्षेत्र नं. १ मा कुल १२ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा एमालेबाट मिनप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. धनन्जय रेग्मी उम्मेदवार बनेका छन्।

यस्तै, नेसनल रिपब्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, मङ्गोल नेशनल अर्गानाइजेसनबाट यामबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुमबहादुर राना, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक र श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ पनि चुनावी प्रतिस्पर्धामा छन्।

स्वतन्त्र उम्मेदवारका रूपमा अशोक बिष्ट मैदानमा उत्रिएका छन्। यसअघि स्वतन्त्र उम्मेदवार मनोज नेपाली दर्जीले भने उम्मेदवारी फिर्ता लिएका छन्।

यता स्याङ्जा क्षेत्र नं. २ मा उम्मेदवारी फिर्तापछि १२ जनाबिच प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसबाट भागवत प्रकाश मल्ल, नेकपा एमालेबाट खिमबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे उम्मेदवार रहेका छन्।

नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा, जय मातृभूमि पार्टीबाट धनबहादुर थापा, नेसनल रिपब्लिक नेपाल पार्टीबाट तेजबहादुर थापा, मङ्गोल नेशनल अर्गानाइजेसनबाट खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन पाठक पनि चुनावी दौडमा छन्।

स्वतन्त्रतर्फ खिमबहादुर क्षेत्री र सागर थापा मगरले उम्मेदवारी कायम राखेका छन्।

यस क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का टीकाराम रेग्मी तथा स्वतन्त्र उम्मेदवार घनश्याम पाण्डे र दिलीप श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उम्मेदवारी फिर्तापछि दलगत समीकरण र स्वतन्त्र उम्मेदवारको उपस्थितिले स्याङ्जाको चुनावी माहोल थप रोचक बनेको छ।