काठमाडाैँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ।
सङ्घले आजदेखि लागू हुने गरी ठूलो र मझौला दुवै किसिमका अण्डाको मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यसूचीअनुसार ठूलो अण्डा एक क्रेटको फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ। यसअघि ४६५ रुपैयाँमा कारोबार हुँदै आएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढाइएको हो।
यस्तै, मझौला अण्डाको फार्म मूल्य प्रतिक्रेट ४७५ रुपैयाँ तोकिएको छ। यसअघि मझौला अण्डा ४४५ रुपैयाँमा बिक्री हुँदै आएको थियो।
यसअघि गत मङ्सिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो। त्यतिबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा कारोबार भएको थियो।
अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भएकाले प्रतिक्रेट लागत मूल्य ५७४ रुपैयाँ ६ पैसा पर्न आउने सङ्घको भनाइ छ।
लागत मूल्यभन्दा निकै तल मूल्य झर्दा किसान निरास बन्दै आएका थिए। पछिल्लो मूल्य वृद्धिपछि भने किसानमा केही आशा पलाएको बताइएको छ।
सङ्घले बजारको अवस्था र माग–आपूर्तिको सन्तुलनलाई ध्यानमा राख्दै समय–समयमा अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्