काठमाडाैँ । भन्सार विभागले चोरी तथा पैठारी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भइरहेको दाबी गरेको छ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रशासनले चोरी–पैठारी नियन्त्रणका लागि नीतिगत सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको बताए ।
सञ्चारकर्मीहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले नेपाल–भारतबीचको खुला सीमाका कारण चोरी र पैठारीका गतिविधि बढी हुने गरेको उल्लेख गरे।
खुला सीमाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न भन्सार विभागले अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अर्धन्यायिक निकायको रूपमा समेत काम गरिरहेको उनकाे भनाइ छ।
महानिर्देशक भण्डारीले खुला सीमाका कारण हुने अर्बौं रुपैयाँ बराबरका चोरी निकासी तथा पैठारीका सामान नियन्त्रणमा लिई दोषीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको स्पष्ट पारे।
चोरी–पैठारी नियन्त्रणमा भन्सार प्रशासन मात्र नभई सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरूको समेत सक्रिय सहभागिता रहेको उनले बताए ।
उनले भने, “हामी भारतसँग खुला सीमा भएका मुलुक हौँ। खुला सीमाका कारण चोरी, पैठारी र निकासीका गतिविधि भइरहेका छन्। त्यसलाई नियन्त्रण गर्न भन्सार प्रशासनले सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको छ। भन्सार प्रशासनले यस्ता सामान नियन्त्रणमा लिने, कब्जा गर्ने र जफत गर्ने अर्धन्यायिक निकायको रूपमा पनि काम गरिरहेको छ। अर्बौं रुपैयाँ बराबरका यस्ता कारोबार नियन्त्रण गरी मुद्दा टुंग्याइएको छ।”
राजस्व चुहावट नियन्त्रण समितिको बैठकमार्फत स्थानीय तहदेखि केन्द्रीय तहसम्म नीतिगत सुधारका विषयमा छलफल भई कार्यान्वयन भइरहेको उनको भनाइ छ। साथै, भन्सार ऐन, २०८२ कार्यान्वयनमा आएसँगै भन्सार प्रशासनमा व्यापक सुधार देखिन थालेको दाबी पनि विभागले गरेको छ।


प्रतिक्रिया दिनुहोस्