काठमाडाैँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ।
आइतवार आयोगको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको औपचारिक शुभारम्भ गर्नुभयो। केन्द्र उद्घाटन गर्दै उनले निर्वाचनका क्रममा कुनै पनि निर्वाचन क्षेत्रमा देखिन सक्ने समस्या तत्काल पहिचान गरी समाधान गर्ने उद्देश्यले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको स्पष्ट पारेका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मीले निरन्तर निगरानीमार्फत समस्या नआउने सुनिश्चितता गर्नेछन्। तर, स्थानीय स्तरमै समाधान हुन नसक्ने समस्या उत्पन्न भएमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रले सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गरी तत्काल समाधान गर्नेछ।
उनले भने, “कुनै पनि निर्वाचन क्षेत्रमा कुनै समस्या देखा परेमा यस केन्द्रले तत्काल परीक्षण गरेर समाधान गर्ने कार्यमा सक्रिय रूपमा लाग्नेछ। यद्यपि समस्या नै नआओस् भनेर निर्वाचनमा खटिएका अधिकारी र सुरक्षाकर्मीले निरन्तर प्रयास गर्नेछन्। यदि त्यहाँबाट समाधान गर्न नसकिने समस्या आयो भने केन्द्रले तुरुन्तै आवश्यक कदम चाल्नेछ।”
संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको मूल्याङ्कन, आवश्यक जनशक्ति तथा स्रोतसाधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन गरिने आयोगको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्