काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी फेदिखोलाबाट खटिएको संयुक्त चेकिङ टोलीले नदिजन्य पदार्थ तथा काठको अवैध ओसारपसारमा संलग्न ट्याक्टरहरू नियन्त्रणमा लिएको छ।
सवारी साधन चेकजाँचका क्रममा पुतलीबजार नगरपालिका–१ स्थित विष्णुपधेरा, सिद्धार्थ राजमार्ग खण्डबाट दुई वटा ट्याक्टर नदिजन्य पदार्थ (ढुंगा) ओसारपसार गरिरहेको अवस्थामा फेला परेका हुन्।
ग १ त ७३३२ र ग १ त ७७३४ नम्बरका ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पुतलीबजार नगरपालिका कार्यालय र सब–डिभिजन वन कार्यालय आँधिखोला, स्याङ्जामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
त्यस्तै, फेदिखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्ग खण्डबाट पनि ग १ त ७४५४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ। उक्त ट्याक्टरमा चिलाउने र आपको काठ अवैध रूपमा ओसारपसार भइरहेको पाइएको प्रहरीले जनाएको छ।
सो ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाहीका लागि सब–डिभिजन वन कार्यालय आँधिखोला पठाइएको छ।
प्रहरीका अनुसार नदिजन्य पदार्थ तथा काठको अवैध उत्खनन र ओसारपसार नियन्त्रणका लागि जिल्लाभर नियमित चेकजाँचलाई थप कडाइ गरिनेछ।


प्रतिक्रिया दिनुहोस्