भन्सार र उद्यमशीलतामा नीतिगत सुधारको लागि तत्काल कदम चाल्न सरकारलाई ढकालकाे आग्रह


काठमाडौँ । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले नीतिगत सुधारको लागि उपयुक्त समय रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ढकालले विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय हुन नसकेको र मन्त्रीहरू विषयगत जानकारी नपाउँदा अलमलमा पर्ने गरेको बताए।

अध्यक्ष ढकालले भने, “सुधारका लागि अहिले एकदमै राइट टाइम हो। विगतमा कतिपय विषयमा मन्त्री नै गर्न खोज्दा के गर्ने भन्ने जानकारी नहुने, तालमेल नमिलेर आवश्यक काम हुन नसक्ने समस्या थियो। अहिले अर्थमन्त्रीको नेतृत्वमा भइरहेको काम धेरै राम्रो छ।”

उनले भन्सारबाट आउने राजस्वलाई प्राथमिकतामा राख्दा उद्यमशीलता विकासमा कुनै असर नपर्ने गरी नीति अघि बढाउनुपर्ने बताए। साथै उद्यमशीलता प्रोत्साहन गर्ने खालका नीतिहरू ल्याउन आवश्यक रहेको पनि उनको भनाइ छ।

अध्यक्ष ढकालले होटल र पर्यटन क्षेत्रमा सरकारले उद्योगको मान्यता दिएको भए पनि उद्योगले पाउने सुविधा होटल–पर्यटनले नपाएको गुनासो औँल्याउँदै, यसलाई तुरुन्त कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, धितोपत्र बोर्डले कतिपय विषयमा जारी गरेको इस्युमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।