काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न भू–भागमा बादल, वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार सोमबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र गण्डकीका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिमका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने बताइएको छ।
त्यसै दिन राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित हिमाली भू–भागमा बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली देखिनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुने सम्भावना रहेको छ।
कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा मध्यम वर्षा तथा तराईका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ भने लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङको सम्भावना पनि रहेको छ।
बुधबार दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। सबै उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात वा वर्षा हुन सक्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मध्यम वर्षा र अन्य भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार राति भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्