काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले युवाले उद्यमी बन्ने कि जागिर खाने भन्ने निर्णय युवा उमेरमै गर्न आवश्यक रहेको बताएका छन्।
मङ्गलबार दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले चाहनाअनुसारको पेशा प्रारम्भमै छनोट गर्न सके सफल हुने सम्भावना बलियो रहने उल्लेख गरेका हुन्।
उपाध्यक्ष श्रेष्ठका अनुसार सरकारी जागिरमा अत्यधिक प्रतिस्पर्धा हुने भएकाले त्यसतर्फ जाने युवाले कडा तयारी गर्नुपर्ने हुन्छ भने उद्यमशीलतामा प्रवेश गर्दा पनि निरन्तर मेहनत, समय र लगाव अनिवार्य हुन्छ।
उनले अल्छीपन त्यागेर उद्देश्यप्रति केन्द्रित भए सफल उद्यमी बन्न सकिने धारणा राखे। उद्यमशीलतामार्फत धेरैले उल्लेखनीय आम्दानी गरेको उदाहरण दिँदै उनले जागिरले जीवन निर्वाहमा सहयोग गरे पनि ठूलो आर्थिक प्रगति नहुन सक्ने बताए । त्यसैले सकेसम्म युवाहरू उद्यमशीलतातर्फ आकर्षित हुनु उपयुक्त हुने उनको भनाइ थियो।
उपाध्यक्ष श्रेष्ठले उद्यमी बन्न चाहने युवालाई प्रविधिमैत्री हुन पनि सुझाव दिए। पछिल्लो समय प्रविधिमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै त्यसअनुसार आफूलाई अभ्यस्त बनाउन नसक्नु ठूलो चुनौती हुने उनले बताए। आफू १४–१५ वर्षको उमेरसम्म प्रविधिबारे धेरै कुरा नबुझेको स्मरण गर्दै अहिलेको पुस्ता भने जन्मिँदै ‘हाइटेक’ भएको अनुभूति हुने उनले उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस्