विगतका कमजोरीले सहकारीहरू धराशायी भए, अब कडा नियमन आवश्यक छ : सचिव भुजेल


काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले विगतमा जोखिम क्षेत्रको आँकलन नगरी गरिएको ऋण प्रवाहका कारण धेरै सहकारी संस्था धराशायी भएको बताएका छन् ।

मंगलवारदेखि सुरू भएको दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै सचिव भुजेलले धितो नराखी ऋण दिइनु, वास्तविक सदस्यबाहिरका व्यक्तिबाट ठूला रकम बचतका रूपमा स्वीकारिनु र ती रकम सहकारी सञ्चालकसँग सम्बन्धित कम्पनीहरूमा लगानी गरिनु सहकारी सङ्कटको प्रमुख कारण बनेको उल्लेख गरेका हुन् ।

उनका अनुसार हालसम्म भएका अध्ययन तथा प्रतिवेदनहरूले सहकारी डुबानमा सञ्चालकहरूको प्रत्यक्ष भूमिका देखाएका छन् । “जो सहकारीहरू धराशायी भए, त्यहाँ जोखिम क्षेत्रको आकलन गरिएन । धितो नराखी ऋण दिइयो । वास्तविक सदस्यभन्दा बाहिरका व्यक्तिबाट ठूला रकम बचतका रूपमा स्वीकार गरियो । ती रकम सञ्चालकहरूको आफ्नै कम्पनीमा लगानी गरियो, जसका कारण सहकारी संस्था डुबे,” उनले भने ।

सहकारी सञ्चालकहरू समाजमा सम्मानित र आर्थिक रूपमा सक्षम व्यक्ति भए पनि अहिले उनीहरू शिर निहुराएर हिँड्नुपर्ने अवस्था आएको भन्दै सचिव भुजेलले त्यसप्रति दुःख व्यक्त गरे । “मलाई कारबाही गरे पनि हुन्छ भन्दै आउने सञ्चालकहरूलाई देख्दा अप्ठ्यारो लाग्छ,” उनले भने ।

अब विगतका कमजोरीबाट पाठ सिक्दै सहकारीहरू अनुशासनमा रहेर सञ्चालन हुनुपर्नेमा उनले जोड दिए । धेरै बचतकर्ताको रकम डुबिसकेको अवस्थामा सहकारी क्षेत्रमाथि कडा नियमन आवश्यक रहेको उल्लेख गर्दै सचिव भुजेलले सरकारले नियमन प्रक्रिया अझ कडाइका साथ अघि बढाउने सङ्केत गरे ।

आयोजक संस्थाका अनुसार मंगलवारबाट सुरू भएको दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलन बुधवारसम्म चल्नेछ ।