काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन देशी तथा विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै संयोजक दाहालले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा राजनीति अघि बढ्नुको सट्टा स्टन्टका भरमा लोकप्रिय हुने प्रवृत्तिलाई बाह्य शक्तिहरूले प्रोत्साहन गरिरहेको बताएका हुन् ।
उनले मुलुकमा विचार र राजनीतिक मूल्य–मान्यतामा आधारित आन्दोलन कमजोर पार्ने उद्देश्यले यस्ता शक्तिहरू सक्रिय रहेको जिकिर गरे । देश र जनताको पक्षमा काम गर्ने राष्ट्रिय तागत निर्माणका लागि कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूबीचको एकता आवश्यक रहेको उल्लेख गर्दै त्यसैका लागि आफूले एकता अभियानलाई तीव्रता दिएको उनको भनाइ थियो।
संयोजक दाहालले भ्रष्टाचारविरुद्ध अभियान, सामाजिक न्यायको पक्षमा संघर्ष र आर्थिक पिछडापन अन्त्य गर्दै विकासको मार्गमा देशलाई अघि बढाउन विचार र सिद्धान्तको सम्मान अपरिहार्य रहेको बताए ।
इतिहास, विचार र राजनीतिक मूल्यमा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महसुस गरेर नै नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रिया तथा ध्रुवीकरण र एकताको अभियान अघि बढाइएको उनले स्पष्ट पारे ।
कम्युनिष्ट तथा देशभक्त शक्तिहरूबीचको एकताले मात्रै मुलुकलाई विद्यमान सङ्कटबाट जोगाउन सक्ने दाबी गर्दै उनले सम्बन्धित सबै पक्षलाई पार्टी एकता प्रक्रियामा समाहित भई अघि बढ्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्