भारत-युरोपियन एफटिएपछि युरोपेली प्रिमियम कार भारतमा सस्ताे हुने


काठमाडाैँ । भारत र युरोपियन युनियनबिच १८ वर्ष लामो वार्तापछि सम्पन्न भएको ऐतिहासिक स्वतन्त्र व्यापार स्म्झौता (एफटिए) ले भारतीय अटोमोबाइल उद्योगमा पनि प्रभाव पार्ने सङ्केत देखिएको छ।

भारत र युरोपियन युनियनबिचको १६औँ शिखर सम्मेलनका क्रममा मंगलबार यस सम्झौताबारे औपचारिक घोषणा गरिएको हो।

सम्झौताअनुसार सन् २०२७ बाट कार्यान्वयनमा आउने सम्भावना रहेको यो एफटिएले भारतमा आयात हुने युरोपेली गाडीहरूमा लाग्दै आएको उच्च भन्सार शुल्कमा ठूलो कटौती गर्नेछ।

हाल भारतमा बिएमडब्लु, मर्सिडिज–बेन्ज जस्ता प्रिमियम युरोपेली कारमा ११० प्रतिशतसम्म भन्सार कर लाग्दै आएकोमा अब यो कर घटाएर करिब १० प्रतिशतमा झारिनेछ। यसले भारतको लक्जरी अटोमोबाइल बजारमा युरोपेली ब्रान्डहरूको पहुँच अझै सहज बनाउने अपेक्षा गरिएको छ।

अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिने गरी यस सम्झौताले युरोपेली अटो कम्पनीहरूलाई भारतमा उत्पादन, एसेम्बली र लगानी विस्तार गर्न थप आकर्षित गर्ने विश्लेषकहरूको भनाइ छ।

कर कटौतीपछि युरोपेली गाडीहरू भारतमा तुलनात्मक रूपमा सस्ता हुनेछन् जसले प्रतिस्पर्धा बढाउने र भारतीय उपभोक्तालाई नयाँ विकल्प दिने सम्भावना छ।

यसैगरी सम्झौताले भारतमा युरोपबाट आयात हुने मदिरा तथा वाइनमा पनि कर घटाउने व्यवस्था गरेको छ।

हाल १५० प्रतिशतसम्म लाग्दै आएको ट्यारिफलाई २० देखि ३० प्रतिशतमा झारिने बताइएको छ।