काठमाडाैँ । कृषि विषयक्षेत्रको विषयगत समितिको एघारौँ बैठक सम्पन्न भएको छ। संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम आयोजित उक्त बैठक संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. मदन प्रसाद परियारको अध्यक्षतामा सम्पन्न भएको हो।
लुम्बिनी प्रदेशको बर्दियास्थित ठाकुरद्वारामा सम्पन्न बैठकमा सातै प्रदेशका कृषि मन्त्रीहरू, संघीय तथा प्रादेशिक सचिवहरू र स्थानीय तहका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकमा कृषि क्षेत्रका प्राथमिकता निर्धारण, नीति तथा कार्यक्रम र योजनाहरूको प्रभावकारी कार्यान्वयन, तीनै तहका सरकारबीच समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा व्यापक छलफल तथा अन्तरक्रिया गरिएको मन्त्रालयले जनाएको छ।
कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीहरूको समाधान खोज्ने विषयमा पनि बैठकमा गहन विमर्श भएको थियो।
विशेषगरी रासायनिक मलको प्रभावकारी आपूर्ति तथा वितरण व्यवस्थापन, पशुपन्छी रोग तथा महामारी नियन्त्रण, कृषि तथा पशुपन्छी स्रोत केन्द्रहरूको विकास, कृषि बजारको समुचित व्यवस्थापन र कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।
त्यसैगरी कृषि क्षेत्रमा युवाको आकर्षण बढाउने, उद्यमशीलता विकास गर्ने, अनुदान प्रणालीमा सुधार गर्दै दोहोरोपना हटाउने, विपद्बाट कृषि क्षेत्रमा हुने क्षति न्यूनिकरणका लागि पूर्वतयारी गर्ने विषयमा पनि साझा धारणा बनाइएको छ।
न्यूनतम समर्थन मूल्य कार्यक्रमको कार्यान्वयनमा आवश्यक सुधार, तीनै तहका सरकारले कृषि क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन सुनिश्चित गर्ने, खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि प्रादेशिक तथा स्थानीय कानुन तर्जुमा गर्ने विषयमा समेत सहमति तथा प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकले कृषि क्षेत्रको समग्र सुधार र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ।


प्रतिक्रिया दिनुहोस्