निर्वाचन आचारसंहिता अनुगमनका लागि जिल्लामा अधिकृत तोकियो


काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरिसकेको छ। आयोगले आचारसंहिता २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको हो।

जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउँदै यसको कार्यान्वयन सुनिश्चित गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम देशभरका ७७ वटै जिल्लामा अनुगमन अधिकृत तोकेको छ।

आयोगका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिक बाहेकका विषयमा आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको छ भने आर्थिकसँग सम्बन्धित विषयमा प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकलाई जिम्मेवारी तोकिएको छ। यी जिम्मेवारी फरक–फरक कार्यक्षेत्रसहित प्रदान गरिएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता पालनालाई कडाइका साथ अनुगमन गरी निर्वाचन प्रक्रियालाई मर्यादित र विश्वसनीय बनाउन उक्त व्यवस्था गरिएको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।