आर्थिक आत्मनिर्भरता बिना सशक्तिकरणका नारा व्यवहारमा लागू हुँदैनन् : सुनिता डंगोल


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुक आर्थिक रूपमा आत्मनिर्भर नबन्दासम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् ।

बुधबार ‘काठमाडौँ बिजनेस एक्स्पो–२०८२’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने उल्लेख गरेकी हुन्। सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला–महोत्सवको निरन्तर आयोजना आवश्यक रहेको उनको भनाइ छ।

उनले विभिन्न समयमा प्रदान गरिने तालिमहरू केवल तालिममै सीमित हुन नहुने स्पष्ट पार्दै ती उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिइन् । “जबसम्म हामी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्दैनौँ, तबसम्म सशक्तिकरणका नारा पूरा हुँदैनन्,” उनले भनिन्, “आफूसँग भएको सिपलाई आयसँग जोड्न यस्ता मेला अत्यन्तै महत्वपूर्ण छन्।”

कार्यवाहक प्रमुख डंगोलले यस कार्यक्रमका लागि उद्योग वाणिज्य संघ काठमाडौँसँग सहकार्य गरिएको जानकारी दिँदै सिपमा आधारित उत्पादनमार्फत नागरिकको आय वृद्धि र मुलुकको समग्र अर्थतन्त्र सुदृढीकरण गर्नु महानगरको उद्देश्य रहेको बताइन् ।

करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलको सहभागिता रहने ‘काठमाडौँ बिजनेस एक्स्पो–२०८२’ मा स्थानीय उत्पादन तथा सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुतिहरू, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट र स्वास्थ्य शिविरलगायत गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।

महोत्सवलाई एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। यसले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसर सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचान सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा र सञ्जाल प्रदान गर्नुका साथै रोजगारीका अवसर सिर्जना गर्दै समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको आयोजकको भनाइ छ।