काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको एक विद्यालय भवन निर्माणमा सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याएको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार बझाङ जिल्ला अन्तर्गत बित्थडचिर गाउँपालिका–९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा वास्तविक रूपमा सम्पन्न कामभन्दा बढी देखाएर गलत बिल तयार पारिएको थियो। त्यसरी गलत मूल्याङ्कन गरी बढी रकम भुक्तानी दिइएको र लिइएको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
आरोपपत्रमा बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार प्रतिवादीहरूले मिलेमतोमा निर्माण कार्यको लागत कृत्रिम रूपमा बढाई सार्वजनिक रकम दुरुपयोग गरेका छन्। यसबाट सार्वजनिक सम्पत्तिमा ठुलो आर्थिक क्षति पुगेको आयोगको ठहर छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा विगो रकम २६ लाख ५४ हजार ६ सय ८३ रुपैयाँ कायम गरी सोही बराबरको जरिवाना र कैद सजाय मागदाबी गरेको छ। साथै, ऐनको दफा १९ को उपदफा (२) अनुसार थप कैद तथा जरिवाना सजायसमेत हुन माग गरिएको छ।


प्रतिक्रिया दिनुहोस्