अमेरिकी फेडरल रिजर्भद्वारा ब्याजदर यथावत, ३.५ देखि ३.७५ प्रतिशतको सीमा कायम


अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले सन् २०२६ को आफ्नो पहिलो नीतिगत बैठकमा ब्याजदरलाई ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतको दायरामा यथावत राख्ने निर्णय गरेको छ ।

बुधबार सम्पन्न फेडरल ओपन मार्केट कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सन् २०२५ को दोस्रो छ महिनामा बैंकले लगातार तीन पटक ब्याजदर कटौती गरेको थियो ।

कमिटीले जारी गरेको विज्ञप्तिमा आर्थिक गतिविधिहरू ठोस गतिमा अगाडि बढिरहेको र बेरोजगारी दरमा स्थिरताका संकेतहरू देखिएको उल्लेख छ ।

यद्यपि, मुद्रास्फीति अझै केही उच्च रहेकाले ब्याजदरमा तत्कालै थप कटौती नगरिएको बैंकले जनाएको छ । भविष्यमा हुने ब्याजदर समायोजनहरू प्राप्त हुने आर्थिक तथ्याङ्क र विकसित परिदृश्यहरूको मूल्याङ्कनमा आधारित हुने बताइएको छ ।

समितिका १२ सदस्यमध्ये १० जना ब्याजदर स्थिर राख्ने पक्षमा थिए भने स्टेफन मिरान र क्रिस्टोफर वालरले ब्याजदरलाई २५ आधार बिन्दुले घटाउनुपर्ने भन्दै विपक्षमा मतदान गरेका थिए ।