तराईमा हुस्सु, पहाडी–हिमाली क्षेत्रमा बदली र हल्का हिमपातको सम्भावना


काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आगामी २४ घण्टामा देशका विभिन्न भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। सुदूरपश्चिम प्रदेशसहित गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने साधारणतया बदली रहनेछ।

बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यसैगरी, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि मौसमको अवस्था झण्डै उस्तै रहने देखिएको छ। तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहँदा देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ।

बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा समेत हल्का हिमपात वा वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

साथै, पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सम्भावित हिमपातलाई ध्यानमा राखी सावधानी अपनाउन सुझाव दिइएको छ।