काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहिद दिवसको अवसरमा ज्ञात–अज्ञात सम्पूर्ण अमर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्मरण सन्देश जारी गरेको छ। सन्देशमा राणा शासनको अन्त्यदेखि राजनीतिक आन्दोलन, जनअधिकार र सामाजिक न्यायका लागि भएका संघर्षमा सहिदहरूले दिएको अमूल्य बलिदानको स्मरण गरिएको छ।
सन्देशमा सहिदहरूले प्राण आहुति दिँदा देखेको सपना केवल राजनीतिक परिवर्तनमा सीमित नरहेको उल्लेख गरिएको छ। आम नेपालीको जीवनमा सुशासन, न्याय र समृद्धि स्थापना गर्ने लक्ष्य नै सहिदहरूको मूल चाहना रहेको रास्वपाको भनाइ छ। तर लामो समयदेखिको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र त्यसबाट सिर्जित बेथितिका कारण सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अझै पूरा हुन नसकेको पार्टीले जनाएको छ।
यही पृष्ठभूमिमा फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई रास्वपाले सामान्य जनप्रतिनिधि चयन गर्ने प्रक्रियामात्र नभई मुलुकमा नयाँ आशा र नेतृत्व उदयको सुरुवातका रूपमा व्याख्या गरेको छ।
पार्टीले निर्वाचनपछि आफ्नो नेतृत्वमा राजनीतिक स्थायित्व, जनमुखी शासन र सामाजिक न्यायसहितको समृद्धि हासिल हुने विश्वास व्यक्त गरेको छ।
सन्देशमा सहिदको बलिदानको वास्तविक सम्मान भनेको राष्ट्रिय स्वाभिमान र एकताको सुदृढीकरण तथा जनअपेक्षाको यथोचित सम्बोधन भएको उल्लेख छ। जनउत्तरदायी राज्य, विधिको शासन र कर्मशील नागरिकको संयोजनबाट मात्रै सहिदका सपना र राष्ट्रिय सङ्कल्प पूरा गर्न सकिने मान्यतामा पार्टी दृढ रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्