शहीदको मार्गचित्रमा एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने कार्यवाहक प्रमुख डंगोलको भनाइ


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

शहीद दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शहीदहरूको बलिदानकै जगमा टेकेर आज शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग सम्भव भएको बताइन् ।

उनले विश्वका शासन व्यवस्थामध्ये उत्कृष्ट मानिने लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरूको त्याग र बलिदानकै कारण सम्भव भएको उल्लेख गरिन्। नागरिक अधिकार, समावेशिता र समावेशीकरणको अभ्यास पनि शहीदहरूको योगदानको परिणाम भएको उनको भनाइ छ।

कार्यवाहक प्रमुख डंगोलले शहीद दिवस युवाहरूका लागि त्याग र समर्पणको महत्व सम्झाउने अवसर भएको भन्दै राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले शहीदहरूको बलिदानबाट प्रेरणा लिनुपर्ने बताइन्। शहीदहरूले नेपाल र नेपालीका लागि दिएको नागरिक अधिकार, समावेशिता र समावेशीकरणलाई उहाँले सुन्दर उपहारको रूपमा व्याख्या गरिन् ।

उनले जहाँनिया राणा शासनको अन्त्य तथा जनताको स्वतन्त्रता र स्वाधीनताका लागि शहीदहरूले जीवन बलिदान दिएको स्मरण गर्दै ती बलिदानकै आधारमा आज लोकतान्त्रिक शासन व्यवस्था सञ्चालन भइरहेको बताइन्।

विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजकत्वमा शहीद सप्ताह समारोह समिति गठन भई स्मृति सभा लगायतका कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएको जानकारी पनि उनले दिइन् ।

सोही सन्दर्भमा माघ १० गते शहीद शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको स्थान टेकु पचली, माघ १३ गते धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको स्थान शोभा भगवती र माघ १५ गते शहीद दशरथ चन्द तथा शहीद गङ्गालाल श्रेष्ठले शहादत प्राप्त गरेको स्थान सिफलमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको उनले बताइन् ।

काठमाडौँ महानगरपालिकाले शहीदहरूले शहादत प्राप्त गरेका स्थानहरूको संरक्षण र प्रवर्द्धन गर्दै चार वीर शहीदहरूको पूर्ण कदको शालिक निर्माण गरेको जानकारी दिँदै उनले धर्मभक्त माथेमाको जन्मथलो ओन्वालमा धर्मभक्त पार्क निर्माण गरिएको र त्यहाँ उनको पूर्ण कदको शालिक स्थापना गरिएको उल्लेख गरिन्। साथै, महानगरपालिकाको सहकार्यमा निर्माण हुन लागेको मानव सेवा आश्रमको नाम धर्मभक्त माथेमाकै नाममा राखिने जानकारी दिइन् ।

कार्यवाहक प्रमुख डंगोलले गङ्गालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिएको उल्लेख गर्दै शहीदका नामबाट सञ्चालित सेवा प्रदायक संस्थामार्फत नागरिकहरूले सहज सेवा पाउने व्यवस्था गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

शहीदहरूलाई दिन विशेष सम्झनामा सीमित नराखी उहाँहरूबाट प्राप्त ऊर्जा र प्रेरणालाई शासन र व्यवस्थाको दैनिक कार्यान्वयनमा प्रभावकारी रूपमा उतार्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। यसका लागि आफ्नो पदअनुसार इमानदार भएर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।