गैरकानुनी गतिविधि र भिसा दुरुपयोग नगर्न नेपालीलाई दुतावासकाे आग्रह


काठमाडौँ । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै अमेरिकास्थित नेपाली राजदूतावासले गैरकानूनी गतिविधि र भिसा दुरुपयोग नगर्न अपिल गरेको छ।

बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै राजदूतावासले अमेरिकी सरकारका सहुलियतपूर्ण सेवामा अवैधानिक तवरले निर्भर भएको पाइएमा भिसा वा ग्रिनकार्ड स्टाटसमा प्रत्यक्ष असर पर्ने तथा रद्दसमेत हुन सक्ने जानकारी दिएको हो।

राजदूतावासका अनुसार अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय, परिवार वा आफन्त भेटघाटका सिलसिलामा अमेरिका पुगेका कुनै पनि विदेशी नागरिकले त्यहाँ रहँदा गलत सूचना वा विवरण पेश गरी स्वास्थ्य उपचार, आवास, पारिवारिक सहयोग, शैक्षिक सहायता लगायतका अमेरिकी सरकारी सहुलियतपूर्ण सेवामा निर्भर भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको आप्रवासन हैसियत जोखिममा पर्न सक्छ। यस्तो जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको राजदूतावासले जनाएको छ।

सूचना अनुसार सन् २०२४ मा अमेरिका गएका नेपाली नागरिकहरूको तथ्याङ्कले समेत नेपालीहरू अमेरिकी सरकारी सहुलियत सेवा लिनेहरूको उच्च सूचीमा परेको देखिएको छ।

यही अवस्थालाई आधार मानी हालका लागि नेपाली नागरिकका लागि आप्रवासी भिसा बन्द गरिएको विषयमा अमेरिकाले सार्वजनिक सूचना जारी गरिसकेको जनाइएको छ।

यसैगरी बी१/बी२ भिसामा अमेरिका गएका नेपाली नागरिकहरू ओभरस्टे गर्ने तथा तोकिएको प्रयोजनभन्दा फरक गतिविधि, विशेष गरी रोजगारीमा संलग्न भएको पाइएकाले अमेरिकी सरकारले नयाँ कडाइ लागू गरेको छ।

आगामी २१ जनवरी २०२६ देखि लागू हुने गरी बी१/बी२ भिसा आवेदनमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी (भिसा बन्ड) राख्नुपर्ने प्रावधान ल्याइएको राजदूतावासले जानकारी दिएको छ।

यस्ता गतिविधिले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति थप कडा बन्ने, भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकका लागि भिसा प्राप्ति झन् कठिन हुने र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर नकारात्मक असर पर्ने चेतावनीसमेत दिइएको छ।